नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई वटै समूहबाट भएका निर्णय अमान्य भएको बताएको छ । यसले नेकपा भित्र अन्यौल बढेको छ । अर्थातः अहिलेसम्म भएका कुनै पनि निर्णयबाट नेकपा विभाजन भएको छैन । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

दुबै समुहबाट भएका आफुखुसी निर्णयलाई अमान्य बताएसँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात थपेका ११ सय केन्द्रिय सदस्यको पद गएको छ । उता, अर्को खेमाबाट अध्यक्ष बनेका माधव कुमार नेपालको समेत पद मान्य भएन ।

कागजी रुपमा अहिले पनि ओली र प्रचण्ड नै नेकपाको अध्यक्ष हुनेछन् । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको तर्क आयोगले गरेको छ ।

संसद विघटन लगतै प्रचण्ड, माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । ओली समूहले केन्द्रीय कमिटी बिस्तार गरेको हो ।

दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबै निर्णय विधान सम्वत नभएको बताएको हो ।