काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो ।
नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४४० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २४२४ विन्दु पार गरेको थियो ।
आज सेयर बजार मापक सूचक नेप्से १६.०४ अंकले बढेर २४४०.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ९०.७७ अंकले बढेको छ भने जीवन बीमा समूह ८८.५८ अंकले घटेको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ६० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ३३ करोड र एनसीसी बैंक ३१ करोड सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र नेशनल हाइड्रोका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् ।