काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा चिकित्सक तथा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुमा कोरोना खोप लगाइने भएको छ । यसका लागि ७ वटै प्रदेशमा खोप पठाइ सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १२ सरकारी तथा निजी अस्पतालबाट खोप सेवा उपलब्ध हुने भएको छ । पहिलो चरणमा १४ माघबाट खोप वितरण शुरु हुने गरी तयारी पुरा भएको मन्त्रालयको भनाई छ । काठमाडौंमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज र वीर अस्पतालबाट सेवा दिइने भएको छ । यसैगरी प्रसूति गृह थापाथली, टेकु अस्पताल, सिभिल अस्पताल, के एमसी सिनामंगल, नेपाल आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेदिक ट्रेनिङ सेन्टर कीर्तिपुरमा खोप लगाइने भएको छ । चार साताको फरकमा दुई पटक खोप लगाउनु पर्छ । अघिल्लो बिहीबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आएको छ । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप नेपाल आएको छ । यो खोप भारतले नेपाललाई अनुदानमा दिएको हो ।
नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा
