काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न’ र आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति’ रहेको समेत कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई ‘धूलिसात’ बनाउँदै लगेको समेत काङ्ग्रेसले उल्लेख गरेको छ ।
आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर आफ्नै जिम्मेवारीको प्रधानमन्त्रीबाट अपमान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको यो प्रवृत्ति दुःखद मात्र नभई लज्जास्पद समेत भएको कांग्रेसको ठहर छ ।