कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना एक दर्जन भन्दा बढी भ्रातृ संगठनको म्याद ६ महिना लम्ब्याएको छ । मंगलबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको म्याद बढाउने निर्णय लिएको छ ।

यसैगरी नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुने निर्णय समेत भएको छ ।

मगलबारको बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने निर्णय समेत लिएको छ । उता, नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ ।

जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको समेत नेपाली कांग्रेसले जनाएको छ । ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको बताइएको छ ।