अर्घाखाँची । अर्घाखाँचीमा एक युवाले आफ्नै दुई वर्षिय छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नेपाली संचरमाध्यमहरुका अनुसार अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर २ सीतापुर झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले मंगलबार आफ्नै छोरी सृष्टिको हत्या गरेका हुन्।
नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्या गरेपछि उनी इलाका प्रहरी कार्यालय ठाडामा आत्मसमर्पणका लागि पुगेको बताइएको छ । दिउँसो १ बजेतिर आफुले छोरीको हत्या गरेको स्वीकार गर्दै उनी प्रहरी कार्यालय पुगेका थिए । सन्तोषले छोरीको हत्या गर्दा घरमा कोही नभएका कारण अप्रिय घटना हुन पुगेको हो ।
उनकी श्रीमती भने बाँकेस्थित माइती बस्दै आएकी छन्। प्रहरीका अनुसार सन्तोषले मामाघरमा आमासँगै बसिरहेकी छोरीलाई डेढ महिना अगाडी मात्र घर ल्याएका थिए । श्रीमान र श्रीमतीबीचको सम्बन्ध भने राम्रो नभएको प्रहरीले जनाएको छ । छोरीको हत्यामा समेत यही विवादको कारण हो की भन्ने आंशका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको रहेको बताइएको छ ।