नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

काठमाडौं । नेपालमा बुधबारबाट कोरोना भाइरसको खोप लगाउन शुरु भएको छ । यो अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।

६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको आंकडा अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाए ।

खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म समस्या समेत नदेखिाएको मन्त्रालयको भनाई छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिको सहभागिता उल्लेख्य रहेको मन्त्रालयको भनाई छ ।

स्वतस्फूर्त सहभागिताका लागि मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यो अभियान सफल बनाउन भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोपको अहिले नेपालमा वितरण शुरु गरिएको हो ।