निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली र पुष्पलकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई बोलाएको छ ।

सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिरहेका बेला आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नाम र चुनाव चिन्हमा दुवै समूहले आ–आफ्नै दाबी गर्दै आइरहेकाले छलफलका लागि शुक्रबार बिहान करिब ११ बजेका लागि बोलाइएको जानकारी दिए ।

आयोगले यसअघि नेकपा विभाजनका लागि कानूनी रुपमा स्वीकृति नदिने निर्णय गरिसकेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेर सोही अनुसार तयारी गरिरहेको छ ।

त्यस्तै आयोगले पनि नामवली प्रकाशन गर्ने, राजनीतिक दल दर्ता गर्नेलगायतका कार्यहरु गरिरहेको छ । ७७ वटै जिल्लामा मतदान केन्द्र र मतदान स्थलको निर्धारणलगायतको तयारी भइरहेको छ ।

त्यस्तै आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।