टी-१० लिगमा सोमपालको डेब्यू, टीम विजयी

आबुधाबी । नेपाली फास्ट बलर सोमपाल कामीले आबुधाबी टी–१० क्रिकेट लिगमा डेब्यू गरेका छन् । पहिलो ओभरमै बलिंगमा आएका उनी आवद्ध टीम मराठा अरेबियन्स खेलमा विजयी समेत भएको छ । आबुधाबीमा बिहीबार साँझ सम्पन्न खेलमा नर्दन वारियर्सविरुद्ध मराठाले पहिले बलिंग गरेको थियो ।

वारियर्सले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १२७ रन जोड्यो । वारियर्सले दिएको एक सय २८ रनको लक्ष्य मराठा अरेबियन्सले पाँच विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको छ । अरेबियन्सका लागि अब्दुल सकुरले २८ बलमा ७३ रन बनाए । मोहम्मद हफिजले आठ बलमा १९ रन जोडेका छन् ।

नर्दन वारियर्सका फबिन एलेनले दुई विकेट लिएका छन् । वारियर्सका लागि भने लेन्डी सिमन्सले ५४ रन बनाएका थिए । ब्राण्डन किङले २९ रन जोडे । अरेबियन्सका लागि मुक्तर अलीले एक विकेट लिए । दुई ओभर बलिंग गरेका सोमपालले विना विकेट २८ रन खर्चिए ।