काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाको लडाईमा आफ्नो ज्यानको आहुती दिने महान व्यक्तिहरुको सम्मानमा आज शहीद दिवस मनाईदैंछ । १ सय तीन वर्षे जहानिया राणा शासनको अन्त्य गर्न हाँसीहाँसी ज्यानको आहुती दिन तयार भएका योद्धालाई आज सम्झना गरिन्छ ।
शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरेको हो । त्यस आन्दोलनयता र अगाडीका आन्दोलनमा समेत ज्यान गुमाएका योद्धाहरुको सम्मान आजकै दिन गरिने हुँदा पनि यो दिनको विशेष महत्व छ ।
यद्दपी सरकारले यो दिनका दिन सार्वजनिक बिदा भने दिँदैन । वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउन थालिएको हो । आज साताव्यापी कार्यक्रमको अन्तिम दिन हो । आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना हुने भएको छ ।
शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने कार्यक्रम छ । सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुख सहभागी हुने भएका छन् ।
१० माघ १९९७ मा निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्न थालेका शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तको हत्या गरिएको थियो । माघ १५ मा दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी तत्कालिन शासकको आदेशमा हत्या भएको थियो ।