कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । आज तेस्रो दिनसम्म आइपुग्दा देशभर ४६ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएका छन् ।

यसरी खोप लगाउनेमा प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जना छन् ।

शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असर देखिएको तथ्यांक प्राप्त भएको छ । यद्दपी यस्ता असर केही समय पश्चात आफैं निको भएका कारण गम्भीर समस्या नदेखिएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभर विज्ञ चिकित्सकहरु परिचालन गरिएको छ ।

वृद्धाश्रम र जेलमा रहेका लक्षित समूहका व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन भएको उनको भनाई छ ।