खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले नेपाल आउने नागरिक र विदेशीलाई खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्ने भएको छ । यसबारे छिट्टै मन्त्रिपरिषद्को निर्णय आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार विदेशबाट खोप लगाएर आएमा नेपालमा निर्वाध हिँडडुल गर्न सकिने गरी निर्णय आउने छ ।

यसका साथै पर्यटकको क्वारेन्टिन अवधि घटाएर पिसिआर परीक्षणमा नेगेटिभ आएलगत्तै बाहिर जान सकिने गरी नियम ल्याउन लागिएको छ । अहिले नेपालमा आउने नेपाली तथा विदेशी जो आएपनि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको छ ।

यसले आगामी बसन्त ऋतुमा पर्यटक आगमन प्रभावित हुने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरिरहेका थिए । यही सन्दर्भमा सरकारले सहजिकरण गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार अब क्रमशः भारततर्फका नाकासमेत खोल्दै जाने योजना रहेको छ । यसले स्थलमार्गबाट समेत पर्यटक भित्रन सहज हुने छ । अहिले भारत र नेपाल दुबै मुलुकमा खोप अभियान जारी छ ।