यूएई । संयुक्त अरब इमिरेट्स (युएई)ले विश्वमा विभिन्न माध्यमबाट ख्याती कमाएका विदेशी नागरिकलाई आफ्नो मुलुकको समेत नागरिकता दिने घोषणा गरेको छ । यूएईमा बसिरहेका नागरिकलाई टिकाइराख्न उक्त मुलुकले सो नीति ल्याएको हो ।
कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटसँगै हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारबाट यस्तो घोषणा आएको बीबीसीले लेखेको छ । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायत काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने भएको छ ।
विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने नीति सरकारले ल्याएको हो । यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ । यो घोषणाबाट विभिन्न क्षेत्रमा विशेषज्ञता हाँसिल गरी यस मुलुकमा बसिरहेका विदेशी नागरिक लाभान्वित हुने भएका छन् ।
युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनु नपर्ने भएको छ । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिन नामावली तयार पार्नेछन् । ती नामावलीबाट स्वीकृत गर्ने काम भने मन्त्रीपरिषद्बाट हुने भएको छ ।