आज नेकपा प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक, के छन् एजेण्डा ?

काठमाडौं । आज नेकपा (प्रचण्ड–नेपाल समूह)को केन्द्रीय समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा समसामयीक विषयमा छलफलको तयारी छ । प्रचण्ड–माधव समूह अहिले सरकारको कदमको विरुद्ध आन्दोलनमा रहेको छ ।

सरकारले ५ पुसमा संसद विघटन गरी निर्वाचनको तयारीमा छ । तर, यो समुह भने सरकारको कदम असैंवैधानिक भएको भन्दै आन्दोलनमा रहेको छ । विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने माग यो समुहको रहेको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा सम्पन्न गरी समूहले २८ माघमा काठमाडौंमा विशाल सभा आयोजनाको तयारी समेत भएको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक यसअघि पुस ७–९ मा बसेको बसेको थियो ।

उक्त बैठकपछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेसँगै भावनात्मक रुपमा नेकपा विभाजन भइसकेको छ । तर, निर्वाचन आयोगले भने पार्टी विभाजनलाई मान्यता दिएको छैन ।