काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ । भारतमा आज सार्वजनिक भएको आर्थिक वर्ष २०२१-२२ को वार्षिक बजेटले नेपालका लागि दिने अनुदान ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरेको हो । सोमबार वित्त मन्त्री निर्मला सीतामरणले भारतमा बजेट सार्वजनिक गरेकी छिन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष भारतले नेपाललाई एक अर्ब १२ करोड भारु बढी अनुदान दिने भएको हो । यसअघि भारतले आव २०२०-२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९-२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।
गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । आज सार्वजनिक भएको बजेट कार्यान्वयन अप्रिल २०२१ बाट कार्यान्वयनमा आउँछ । भारतले सबैभन्दा ठूलो अनुदान भने भुटानलाई दिन्छ । आव २०२१-२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।
चालु आव २०२०-२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आवमा २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।