यसैसाता शुरु हुने भयो वर्षा र हिमपात, पदयात्रा जोखिमपूर्ण हुने

काठमाडौं । नेपालमा यसैसाता हिँउदे वर्षा र हिमपात शुरु हुने भएको छ । सामान्यतया माघको अन्तिम र फागुन पहिलो साता हुने वर्षातलाई वर्षको अन्तिम जाडोका रुपमा हेर्ने गरिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना छ ।

यसले खासगरी यो सिजनमा उच्च पहाडी तथा हिमाली भेगमा पदयात्रामा जान जोखिमपूर्ण हुने गर्छ । अत्यधिक चिसो बढ्ने भएकाले पहाडी र तराई भेगमा समेत जनजीवन प्रभावित हुने गर्छ । हिमाली भेगमा त चिसो मौसममा हरेक समय सकस हुने गर्छ । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेको बताइएको छ ।

यसले बिहीबारबाट तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । यो प्रणाली प्रवेश गरेपछि पश्चिमी भेगबाट वर्षा शुरु हुनेछ । यसले मुलुकका अन्य क्षेत्रमा समेत प्रभाव बिस्तार गर्नेछ ।

यद्दपी यस समयमा पर्ने पानीले कृषकलाई भने राहत दिनेछ । नेपालमा धेरै स्थानमा पानी नपर्दा सुख्खा बढेको छ । जंगलमा डडेलो समेत फैलिएको छ भने कुहिरो र हुस्सुले वातावरण ढाकेको छ ।