म्यानमार घटनालाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज

File Photo

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएको घटनालाई लिएर आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । आजका लागि बोलाइएको बैठकमा सेनाले गरेको कु र उत्पन्न परिस्थितिबारे छलफल हुने भएको छ । यसबारे संयुक्त राष्ट्रसंघको औपचारिक धारणा समेत आजै आउने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार म्यानमारमा उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न सुरक्षा परिषदका सदस्य सहमत छन् । यो घटनाबारे विश्वभरबाट आलोचना भइरहेका बेला संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक बस्न लागेको हो ।

घटनाबारे अमेरिकी राष्ट्रपतिले समेत चेतावनी दिएका छन् । उनले म्यान्मारको सेनालाई सत्ता छोड्न आग्रह गरेका छन् । त्यसो नभए म्यानमारमाथि अमेरिकाले प्रतिवन्ध लगाउन सक्नेछ । विश्वभरका नेता म्यानमारमा प्रजातन्त्र पुनस्र्थापनाको पक्षमा उभिएका छन् ।