काठमाडौं । नेपालमा मंगलबारसम्म १ लाख २८ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज खोप अभियानको सातौं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएका छन् ।
प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको मन्त्रालयले उल्लेख गरेको छ । पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुले खोप पाइरहेका छन् ।