संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् ।

आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ गराएका हुन् । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका छन् ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथ गराइएको हो ।

प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसै दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

परिषद्का अध्यक्ष केपी ओली र सदस्य चोलेन्द्रशमशेर राणाले भागबन्डाका आधारमा ३८ जनाको नियुक्ति गरेका थिए। ६ जना हुने परिषद् बैठकमा ओली, जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए । ऐनमा अध्यक्ष र चार सदस्य बैठकमा उपस्थित भए मात्र बैठक बस्न सक्ने उल्लेख थियो ।

तर, ३० मंसिरमा अध्यादेशको आधारमा ऐन संशोधन गरेर त्यही साँझ ३८ पदमा नियुक्ति गरिएको थियो । अध्यादेशविरुद्ध १ पुसमा नै सर्वाेच्च अदालतमा रिट परे पनि ५० दिनसम्म पनि सुनुवाइ सुरु हुन सकेको थिएन ।