काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहको आयोजनामा आज आम हड्ताल गरिएको छ । यसको प्रभाव राजधानीमा बिहानैबाट देखिएको छ । सार्वजनिक सवारी साधन चलेका छैनन् । अत्यावश्यक बाहेक निजी सवारी साधन समेत कमै मात्र चलेका छन् । तर, सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
नेकपाका नेता तथा कार्यक्रता बन्द सफल बनाउन सडकमा आएका छन् । गृह मन्त्रालयले भने निर्धक्कसँग पेशा व्यवसाय संचालन गर्न आह्वान गरेको थियो । बिहानै नेकपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।
सडकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अवरोध गर्दा झडप भएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाई नगरी संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य नियुक्त गरेको विरोधमा आज आम हड्ताल भएको हो ।