काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा गरिएको नाराबाजीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।
संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा गरिएको आमहड्तालको क्रममा सडकमा निस्किएका प्रचण्डले एमसीसीको बिरोधमा नाराबाजी गरेपछि विरोध नगर्न निर्देशन दिएका हुन् ।
स्थायी कमिटी सदस्य पम्फा भुसाल, विष्णु रिजालसहितले नेतृत्व गरेको पुल्चोक धर्नास्थलमा पुगेका प्रचण्डले ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईरहेको बेला साथ दिएर मुट्ठी उचालिरहेका थिए, नारा लगाइरहेका थिए ।
तर अचानक ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले आफ्नो आवाज रोके र मुस्कुराउँदै स्थायी कमिटी सदस्य पम्फा भुसाललाई इसारा गरेर एमसीसीविरुद्ध नारा नलगाउन निर्देशन दिए ।
लगत्तै, भुसालले पनि नारा लगाउनेलाई सो नारा नलगाउन आदेश दिएपछि फेरि ‘आमहड्ताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईएको थियो । त्यसपछि आमहड्तालस्थलवाट निस्किएका प्रचण्ड उपत्यकाका विभिन्न ठाउँमा पुगेका थिए ।