काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा सेनालाई दिएको समर्थन फिर्ता गर्ने घोषणा गरेका छन् । यमनले हुथी विद्रोहीविरुद्ध आक्रामक कारबाही गर्दा त्यसमा अमेरिकी सेनाले समेत साथ दिने गरेको थियो । छ वर्षभन्दा लामो समयदेखि यहाँ युद्ध जारी छ ।
बीबीसीका अनुसार युद्धकै कारण यमनमा १ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यमनमा युद्ध अन्त्य हुनुपर्ने भन्दै राष्ट्रपति बाइडेनले विदेश नीतिबारे पहिलोपटक वक्त्व्य जारी गरेका छन् । हुथी विद्रोहीविरुद्ध यमनमा साउदी अरेबियाको नेतृत्वको गठबन्धनले युद्धमा भाग लिइरहेको छ ।
यसमा अमेरिकाको समर्थन रहेको छ । सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेका हुन् । त्यसपछि नरसंहार शुरु भएको हो ।
यो समर्थन फिर्ताले अलकायदाविरुद्धको कारबाहीलाई भने यसले नगर्ने बीबीसीले लेखेको छ । बाइडेनको घोषणासागै अब अमेरिकाले आक्रामक कारबाही रोक्ने भएको छ । अमेरिकाले साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियार समेत बिक्रि गर्ने छैन ।