चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान प्रदान गर्ने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ । संवादका क्रममा यीले यस्तो घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने बताएको थियो ।

यो ५ लाख सोही ३ लाखमा थपिने हो वा थप ५ लाख हो भन्ने चाँही खुलेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन पनि दिएका छन् । त्यसो त अहिलेसम्म कुनै पनि चिनियाँ खोप आपतकालीन प्रयोगका लागि नेपालमा दर्ता भइसकेका छैनन् ।

चीनले भने आफ्ना नागरिकलाई खोप लगाइरहेको छ । नेपालमा भारतीय खोप अभियान जारी रहेको छ । भारतले १० लाख डोज खोप दिएको हो । पहिलो चरणमा ५ लाख मानिसले यो खोप पाउने छन् ।