काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुष्टी भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । राष्ट्रिय समाचार समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी गराएको हो । गत १६ माघमा तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण पुष्टी भएको थियो ।

सङ्क्रमण देखिएको स्थानबाट फैलन नदिन थप सतर्कता अपनाएको र अहिले उक्त सङ्क्रमण नियन्त्रणमा आइसकेकेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आइएको छ । आसपासमा थस संक्रमण देखिएको छैन । रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।

यसबाहेक एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो ।


विभागले यसअघि नै भारतका केही प्रदेशमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सीमानाका बन्द गरिसकेको छ । अहिले भारतबाट पंक्षी नेपालमा ल्याउन पाइदैन ।