बैतडी । कंचनपुरकी किशोरी निर्मला पन्तको बलत्कारी अहिले पनि खुलेआम सडकमा घुमिरहेको छ । नेताहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री एक अपराधी पत्ता लगाएर थुन्न सक्दैनन् । जसले समाजमा यस्तो कुकर्म गर्नेहरुको मनोवल बढिरहेको छ ।
यस्तै घटना पुनः सुदुरपश्चिममा भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भ्एको छ । बुधबार भएको यो घटनाबाट आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।
स्थानीय सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्ने उनको सोही दिन स्कुलबाट घर जाने क्रममा बाटोमै बलात्कारपछि हत्या भएको हो । प्रहरीका अनुसार अन्दाजी तीन बजेतिर उनको हत्या भएको देखिएको छ । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडेपछि घटना भएको हो ।
२०७५ साउन १० गते भएको निर्मलाको हत्यारा पत्ता लगाउन गृहमन्त्री असफल छन् । उनकै लापरवाहीका कारण थप एक अर्की किशोरीले अकालमा ज्यान गुमाउनु परेको छ । प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ । घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क फेला परेको छ ।
हात कोतरिएको र यौनाङ्गमा रगत बगेको देखिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली बैतडी पुगेको छ । घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरको सहायतामा भागरथीको मोबाइल फेला परेको छ ।