मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

Photo Source : Onlinekhabar.com

पोखरा । कास्कीको सुन्दर फेवातालको रुप अहिले कुरुप बनेको छ । कारण हो, फेवातालको मूख्य आकर्षणका रुपमा रहेको जलको स्तर घटाइएको छ । अर्थातः बाँध नै खोलेर फेवातालबाट पानी कम गरिएको छ । यसअघि फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा बाँध बाँधिएको हो ।

यो बाँधका माध्यमबाट सिँचाइका लागि नहर, त्यसैबाट बिजुली समेत निकालिएको थियो । यो बाँध २०३१ सालमा भत्कियो । २०३४ सालबाट पुनः बाँध बाध्न थालिएको थियो । २०४१ सालमा अहिलेको विद्यमान बाँध तयार भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका अनुसार अहिले तालको पानी सुकाएर बाँध मर्मत थालिएको हो ।

पानीको बहाब नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको कार्यालयको भनाई छ । करीव १ मिटर पानीको सतह घटाइएको छ । यसले किनारमा जमिन देखिएको छ । फेवातालको पानीको सतह ३ मिटर घटाइयो भने ०३१ सालमा ताल फुटेर बनेको तालको आकार बराबर नै हुने बताइएको छ ।