काठमाडौं । दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप अभियान रोकेको छ । त्यहाँ भएको एक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा निराशाजनक देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकी सरकारले रोक लगाएको बीबीसीले लेखेको छ ।
वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित छन् । जसले गर्दा कोरोना भाइरसको खोपले काम गरिरहेको छैन ।
अक्सफोर्ड आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड १९ का हल्का तथा मध्यम खालका बिरामीलाई नगन्य मात्रामा सुरक्षा दिएको अध्ययनको निष्कर्ष छ । त्यहाँ करीव २ हजार मानिसबाट नमुना लिएर अध्ययन गरिएको थियो ।
दक्षिण अफ्रिकाले अक्सफोर्ड आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरेको थियो । आगामी सातादेखि उसले खोप लगाउन शुरू गर्ने कार्यक्रम राखिएको थियो।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझै कुर्ने बताएका छन् ।