काठमाडौं । बिहीबार देखिको अविरल वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।
प्रहरी प्रधान कार्यायको पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्लामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं क्षेत्र डुबानमा परेको छ ।
शुक्रबार राजधानी काठमाडौंमै ३ जनाले ज्यान गुमाए । यसबाहेक रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं र खोटाङमा ३र३ जनाको ज्यान गएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार सम्म नै ठूलो वर्षाको अनुमान गरेको छ । सोहीकारण क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
अविरल वर्षाका कारण पहाडमा पहिरोले ज्यान गुमाउनको संख्या बढिरहेको छ । तराईमा भने वस्तीहरु क्रमशः डुबानमा पर्न थालेका छन् ।
प्रहरीका अनुसार बनेपा–३, नालास्थित घरमाथि पहिरो खसेर दुई जनाले ज्यान गुमाएका छन् । यस घटनामा परी ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको निधन भएको छ ।
रामेछापमा रामपुरस्थित ४५ वर्षीया पदमकुमारी सुनुवारको घरमा पुरिएर मृत्यु भएको छ । भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई आफ्नै घरको पर्खालले पुरिएका छन् ।
काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भइ मुलपानीमा डेरा गरी बस्ने नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको निधन भएको हो ।
शुक्रबार पहाडी र पूर्वी तराईका अधिकांश जिल्लामा वर्षा भयो । जसले गर्दा यस भेगका नदीको जलस्तरसमेत माथि उठेको छ ।
काठमाडौंका अधिकाशं भेग डुबानमा परे । त्यसमा पनि कंलकी क्षेत्र बढी डुबान भयो । काठमाडौंका नदीमा समेत जलस्तर निकै बढेको छ ।