नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।
बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच पहिलो पटक औपचारिक वार्ता भएको हो । वार्तामा क्षेत्रीय भू राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिए । उनले आफु भारत अमेरिका रणनीतिक सहकार्यमा आतुर रहेको आश्वासन समेत दिए । मोदीले मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने विषय स्वागतयोग्य रहेको बताएका थिए ।
बाइडेनले आगामी अप्रिलमा जलवायु सम्मेलनको समेत आयोजना गर्दैछन् । दुई नेताबीच कोरोना विरुद्ध सहकार्य गर्ने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने सम्बन्धमा समेत कुराकानी भएको छ ।