कुवेतमा सात नेपाली महिला पक्राउ

काठमाडौं । कुवेतमा सात जना नेपाली महिला पक्राउ परेको कुवेती संचारमाध्यमले जनाएका छन् । कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोग उनीहरुमाथि लगाएको छ पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेको बताइएको छ ।

घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध तरिकाले बेचबिखन गरेको आरोप उनीहरुमाथि लागेको छ ।

कुवेतमा घरेलु कामको लागि महिला कामदार लैजान सरकारले कडाई गरेको छ । यसअघि भारतको बाटो हुँदै धेरै नेपाली महिलालाई त्यहाँ लगिन्थ्यो । अहिले भारतले समेत कडाई गरेको छ ।

दलालहरूले भने घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेको अरब टाइम्सले लेखेको छ । कुवेतले हालै भने नेपालसहित ५ देशबाट घरेलु कामदार आउन सक्ने गरी निर्णय गरेको छ । पक्राउ परेकाको परिचय भने सार्वजनिक गरिएको छैन ।