दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको छ ।

उनीहरुको प्रमाणपत्र रद्द गरिएको मन्त्रालयले जनाइएको छ । मन्त्रालयले गरेको अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको प्रवक्ता अधिकारीको भनाई छ । यसरी प्रमाणपत्र लिने दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो । उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।

भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत ५० हजार नगद जरिवाना गरेको छ । सम्पर्क अधिकृतका रुपमा खटिएका पवन कुमार घिमिरेलाई चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।