पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भ्रमण भिसामा जाँदा ४० वर्षभन्दा कम उमेरका महिलाले वडाको सिफारिस ल्याउनु पर्ने नियम बनाएको छ । अध्यागमन विभागले बनाएको यस्तो नियम स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले स्वीकृत गरेमा यो लागु हुनेछ ।

भिजिट भिसामा खाडी छिर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्थाको तयारी गरिएको छ । अध्यागमन विभागका एक अधिकारीका अनुसार एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

तर, साथमा परिवारको एक जना सदस्य भएको अवस्थामा भने यो नियम लागु हुने छैन । नेपालबाट बीना कुनै जानकारी भिजिट भिसामा खाडी छिर्ने र जोखिममा पर्ने क्रम बढेपछि यस्तो नियम ल्याइएको मन्त्रालयको विभागको भनाई छ ।

यता, विभागले डलर सटहीमा समेत अब प्रमाण आवश्यक हुने व्यवस्था गरेको छ । प्रस्तावित कार्यविधिमा अब भ्रमण भिसामा जाँदा डलर मात्र साथमा बोकेर पुग्ने छैन, बैंक वा आधिकारिक सटही गर्ने निकायबाट डलर साटेको प्रमाण समेत साथमा बोक्नु पर्ने भएको छ ।