वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रपतिले आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले पहिलो चरणमा एक साताभित्र कसलाई कुन कुन काममा प्रतिबन्ध लगाउने भन्ने निश्चित गरिने भएको छ । म्यानमार सरकारको १ अर्ब अमेरिकी डलर अमेरिकामा छ । यस रकममाथि सेनाका जनरलहरुको पहुँचमा रोक लगाउने समेत तयारी अमेरिकाको रहेको छ ।
यसबाहेक निर्यातमा कडाई गरिने छ । म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज हुने भएको छ । तर स्वास्थ्य हेरचाह, नागरिक समूह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रको सहयोग भने जारी नै रहने भएको छ ।