काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए ।
उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिए । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाइने समेत चेतावनी दिए ।
नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा बोल्दै थापाले राष्ट्रपति भनेको व्यक्ति नभई संस्था भएको बताए । उनले भने, ‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ, महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’