धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण भएको हो भने धराहराको नवनिर्माण हो । यी दुई संरचनाको अवलोकनबाट प्रधानमन्त्री संतुष्ट देखिए ।

सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटनको तयारी रहेको समेत उनले जानकारी दिएका छन् ।

धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको उनले बताए । धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको छ । बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने तयारी छ ।