बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

बुटवल । बुटवलमा केवलकार बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा बन्ने लुम्बिनी केवलकारको शनिबार शिलान्याश गरे । यो केवलकार लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने भएको हो । कम्पनी चन्द्र ढकालको हो । केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडामा पुग्नेछ ।

तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना बनाउने योजना रहेको छ । ढकालले काठमाडौंको चन्द्रागिरीमा यसै मोडलमा केवलकार बनाएर चलाइरहेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाएको बताए ।

उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने आवश्वासन दिए । अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएको बताए ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरिएको उल्लेख गरे ।