काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिनेछन् । यसअघि विहिबार सरकारी पक्षको बहस सकिएको हो ।
सरकारी पक्षबाट आएका जिज्ञासा र तर्कको जवाफ निवेदक पक्षले दिनु पर्नेछ । त्यसका लागि बढीमा ५ जना वकिलले समय पाउने सम्भावना छ । जवाफी बहस गर्न नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठसहितको टोली खटिएको छ । त्यसबाहेक अन्य १२ निवेदकका तर्फबाट समेत वकिल खटिएका छन् ।
सरकारले पुस ५ मा संसद विघटन गरेपछि यसको विरुद्धमा संवैधानिक इजलासमा बहस जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरिसकेका छन् ।
जवाफी बहस सकिएपछि एमिकस क्युरीमा रहेका पाँचजनाले आफ्नो धारणा राख्न सक्ने छन् । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला तोकिएका छन् ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू तेजबहादुर केसी, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन्।