काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले स्पानिस क्लब बार्सिलोनालाई हराएको छ । खेलमा किलिएन एमबाप्पेले ह्याट्रिक गरे । घरेलु मैदानमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा ४-१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।
क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए । दोस्रो हाफमा पीएसजीले तीन गोल थप्यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।
६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । आज राती नै सम्पन्न अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० ले हरायो ।