काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप अभियान शुरु गर्ने भएको छ । प्राथमिकतामा परेका नागरिकलाई त्यस अगाडी नै खोप दिने र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप वितरणको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको बताइएको छ ।
यो उमेर समुहमा कुल २८ लाख जनसंख्या रहेको अनुमान सरकारको छ । निकट भविश्यमा २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरीद गरेको भित्राइदैछ । कोभ्याक्समार्फत समेत कोरोना खोप आउने भएकाले खोपको अभाव नहुने बताइएको छ ।
यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको हो । यसपछि भने ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने भएका छन् ।
नेपालमा प्रारम्भमा चिकित्सक र फ्रन्टलाइनमा काम गर्ने, दोस्रो प्राथमिकतामा पत्रकार र तेस्रो प्राथमिकतामा सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई राखेर खोप दिइएको छ ।