नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

कारोबारको अन्तिम दिन नेप्सेले २६३६.६८ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले २६११ विन्दु पार गरेको थियो ।

विहिबार सेयर बजार मापक सूचक नेप्से २५.२३ अंकले बढेर २६३६ ६८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०६ कम्पनीको ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच भएका छन् ।

विहिबार कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०६ कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा एनआइसी एसिया परेको छ । यसको सबैभन्दा धेरै ५६ करोड बढि कारोबार भएको छ । इन्फ्रास्ट्रकचर बैंकसहित ८कम्पनीका लगानीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।