काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यले आकास छोइरहेको समयमा सुनको मूल्यमा भने निरन्तर गिरावट आएको छ । कोरोना महामारीमा सुनमा लगानी गरेका लगानीकर्ताले क्रमशः यसबाट बाहिर निस्कन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । यसको प्रभाव नेपाली बजारसम्म परेको छ ।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेन गरिब मुलुकका लागि संयुक्त राष्ट्रसंघमार्फत खोप खरीदका लागि प्याकेज घोषणाको तयारीमा छन् । यसले समेत सुनको मूल्य गिरावटमा भूमिका खेलेको बताइएको छ । शुक्रबार नेपाली बजारमा तोलामा एक हजार रुपैयाँ कम भएको छ ।
बिहीबार ८९ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । फागुनयता मात्र ६ दिनमा सुन तोलामा २६ सय सस्तो भइसकेको छ । चाँदी समेत तोलामा ३० रुपैयाँ घटेर १३ सय ५ रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।