काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाएका छन् ।
यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो । दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।
अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयको भनाई छ । मन्त्रालयले आउँदो २३ गतेदेखि भने दोस्रो अभियान सञ्चालनको तयारी गरेको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप दिइने छ ।