नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने

File photo

काठमाडौं । नेपाल सरकारले भारतबाट खरीद गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइदैछ । कोभिशिल्ड खोपको पहिलो खेप मध्ये १० लाख डोज आज दिउँसो काठमाडौं ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले भारतबाट २० लाख डोज खोप खरीद गरेको छ । प्रतिडोज ४ डलर खर्च गरेर सरकारले यो खोप किनेको हो ।

पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् काठमाडौं आउने छ । उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

सरकारले २३ गतेबाट ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई खोप लगाउने भनेको छ । यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।

त्यो खोप प्राथमिकतामा परेका नागरिकलाई लगाइएको छ । अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयको भनाई छ ।