पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

काठमाडौं । पर्यटन व्यवसायीले सरकारले आफै ठूल्ठूला सभा सम्मेलन गर्दै हिँड्ने तर पर्यटक आगमनमा भने कोरोनाको डण्डा लगाइरहेको प्रति आपत्ति जनाएका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका हुन् ।

पछिल्लो समय नेपालमा हजारौं मानिस भेला गरेर प्रधानमन्त्री स्वयमःले भाषण गर्दै हिँडेका छन् । तर, पर्यटक आगमनमा भने ७ दिन क्वारेन्टिन अनिवार्य छ । यता, अनअराइभल भिसाको समेत सुविधा उपलब्ध छैन ।


कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको भन्दै व्यवसायीले पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको समेत गुनासो गरे । व्यवसायीले नेपाल आउने सबै पर्यटकलाई अनअराइभल सेवा समेत सूचारु गर्न माग गरेका छन् । अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने माग व्यवसायीले गरेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राखी पर्यटकलाई तत्काल स्वाब संकलन गरी नतिजा दिन सक्ने व्यवस्थापनको माग समेत व्यवसायीले गरेका छन् । पर्यटन व्यवसायीले नेपालमा पर्वतारोहण सिजन नजिकिएको भन्दै हवाई यातायात समेत सूचारु गर्न माग गरेका छन् । हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने उनीहरुको माग छ । कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकलाई पनि उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ ।