त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा मात्र चल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने गरी समय तोकिएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा संचालनमा छन् । सोचेजति यात्रु र उडान नभएपछि विमाास्थलको संचालन अवधि घटाउन लागिएको हो ।

कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेपनि अन्तर्राष्ट्रिय उडानमा यात्रु बढ्न सकेका छैनन् । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन बढ्न सकेको छैन ।

अब विमानस्थल बिहान साढे ६ बजे खुलेर रातको साढे १२ बजे बन्द हुनेछ । अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ । अन्य तीन हवाई कम्पनीले समेत रातको समयमा उडान गर्छन् । काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान अवतरण भइरहेको विमानस्थलको तथ्यांक छ । यसमध्ये ३० उडान अवतरण अन्तर्राष्ट्रिय हुन् ।