सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका नागरिकको संख्या लुकाएको पुष्टी भएको छ । बुधबार एकै दिन ६१९ जना थप गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्या सच्याएको छ । यसअघि सरकारमाथि मृतकको संख्या लुकाएको आरोप लागेको थियो । तर, सरकारले भने प्रतिक्रिया दिएको थिएन ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जना मानिसको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६८४ पुगेको छ ।

बुधबार ६१९ थप संख्या सार्वजनिक भए पनि यस दिन मृत्यु हुनेको संख्या भने मात्र एक थियो । मन्त्रालयका अनुसार बुधबार मात्र ९४ जनामा कोरोना भाइरसको पुष्टी भएको छ । यस दिन देशभर ३ हजार ६९२ जनाको नमुना परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमित २ लाख ७३ हजार ७६० जना पुगेको छ । यसमध्ये २ लाख ७० हजार १३९ जनाले कोरोनालाई जितिसकेका छन् ।