नेकपाको पार्टी विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादको टुंगो नलागेसम्म प्रमुख विपक्षी नेपाली कांग्रेसले कुनै पनि समुहसँग सहकार्य नगर्ने निर्णय लिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको नेताहरुले बताएका छन् । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराएका थिए । त्यसपछि उनले नेताहरुको राय माग गरे ।

बैठकले नेकपा विवादको अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन नहुने निष्कर्षमा पुगेको छ । जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।