काठमाडौं । राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । एन्फाको ५ सदस्यीय टेक्निकल समितिले बिहीबार फिलिप्सलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि एन्फाको प्राविधिक निर्देशकका रुपमा काम गरिरहेका थिए ।
फिलिप्सले यसअघि सन् २०१४ देखि २०१५ सम्म पपुआ न्युगिनीको महिला टिममा रहेर प्रशिक्षकका रुपमा समेत काम गरिसकेका हुन् । साफ महिला च्याम्पियनसिप र महिला एशियन कप क्वालिफायरका लागि एन्फाले राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण पनि छिट्टै सुरु गर्ने जानकारी गराएको छ ।
गत वर्ष स्वदेशमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) यता राष्ट्रिय महिला टोलीले प्रशिक्षक पाएको छैन । सागको महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएसँगै तत्कालिन मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्त गरिएको थिएन ।