सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै

काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने निश्चित भएको छ । उनी शनिबार पाकिस्तान प्रस्थान गर्ने भएका छन् । सन्दीप लाहोर कलन्दर्सबाट प्रतियोगितामा बाँकी खेल खेल्न पाकिस्तान गएका हुन् । शुक्रबार साँझ सन्दीपको सम्झौता पक्का भएको हो । उनी आज दोहा हुँदै कराची जान लागेको बताइएको छ ।

लाहोरबाट खेलिरहेका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय खेल खेल्न अफगानिस्तान फर्किएपछि लाहोरले सन्दीपलाई आवद्ध गरेको हो । पिएसएल ड्राफ्टमा सन्दीप बिक्रि भएका थिएनन् । लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजा प्राप्त गरेको छ । टीम अंक तालिकामा तेस्रो स्थानमा छ। सन्दीपसँग पिसिएल खेलेको अनुभव भने छ । उनी यसअघि सन् २०१९ मा लाहोरबाट पीएसएल खेलेका थिए।