अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

न्यूयोर्क
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ ।
राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए ।
रिपब्लिकनहरु यो प्याकेज महंगो भएको भन्दै पारित गर्न नहुने पक्षमा छन् । हाउसबाट पास हुने क्रममा पनि रिपब्लिकनहरुले विपक्षमा मतदान गरेका थिए ।
सबै डेमोक्रेटिक सिनेटरले राहत प्याकेजको पक्षमा मतदान गरेमा सिनेटबाट पनि यो प्रस्ताव पारित हुनेछ । त्यसपछि राष्ट्रपति बाइडेनको हस्ताक्षरसँगै सर्वसाधारणलाई राहत वितरण सुरु हुनेछ ।
राहत प्याकेजमा साप्ताहिक बेरोजगार भत्तालाई पनि ३०० सय डलरबाट बढाएर ४०० डलर पुर्याइएको छ । यस्तै अविभावकमा निर्भर १७ बर्ष माथिका बयस्कलाई पनि १४ सय डलर राहत दिने जनाइएको छ । अमेरिकी सरकारले कोरोना भाइरस महामारी सुरु भएपछि जनतालाई एक पटक १२ सय र अर्को पटक ६ सय गरि १८ सय डलर राहत प्रदान गरि सकेको छ । अहिलेको १४ सय डलर थपिँदा प्रत्येक अमेरिकीले सरकारबाट पाएको राहत ३२ सय डलर पुग्नेछ ।